बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विष्फोट हुँदा नेपाली काँग्रेशका नेता चन्द्र भण्डारी गम्भीर घाइते भए भने र उनकी ममतामयी आमाको उपचारको क्रममा मृत्यु भयो । समय समयमा यस्ता घटनाहरु नभएका भने होइनन तर देशकै प्रतिनिधी समेत रहेका सांसदको ग्यास सिलिन्डर पड्केर घाइते हुनुले आम जनमानसमा त्रास सिर्जना गरेको छ ।
नेपाल आयल निगमको तथ्याड्ड अनुसार नेपालमा ५० लाख मानिसहरुले खाना पकाउन एलपी ग्यासको प्रयोग गर्ने गर्दछन । ठुलो संख्यामा ग्यास प्रयोग गर्ने उपभोक्ता भएको नेपालका शहरी क्षेत्रमा विभिन्न कमीकमजोरी कारण ग्यास पडकने सम्भावना रहेको नै छ । बर्षेनि कति मानिसहरुले ग्यास पडकेर ज्यान गुमाउने गर्दछन भन्ने कुराको आधाकारिक डाटा भने सम्बन्धित निकायसँग छैन ।
के हो एलपी ग्यास ?
एलपी ग्यास भनेको लिक्विफाइड पेट्रोलियम ग्यास हो । जुन अत्यधिक ज्वलनशील र विस्फोटक ग्यास हो । हामी एलपी ग्यास सामान्यतया खाना पकाउन, तताउन, र अन्य प्रयोजनको लागि इन्धनको रुपमा प्रयोग गरिन्छ । जब एलपी ग्यास चुहावट हुन्छ यसले खतरनाक अवस्था सिर्जना गर्ने गर्दछ ।
ग्यास पड्किनुको कारण के हो ?
ग्यास पडकनुको मुख्य कारण भनेको ग्यास लिक हुनु नै हो । सिलिन्डरको जथाभाबी प्रयोग गर्नु, रेगुलेटर तथा चुलो प्रयोगपछि राम्रोसँग बन्द नगरिनु ग्यास पड्किनुका कारण हुन । यसैसँग ग्यासमा गुणस्तर प्रमाणित नभएको चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि पड्कने सम्भावना हुन्छ ।
लामो समयसम्म सिलिन्डर प्रयोग नगर्दा, सिलिन्डरको प्रयोग जथाभाबी गर्दा पनि जोखिम हुनसक्छ । बर्षौसम्म स्टकमा रहेका र प्रयोगमा आउन नसकेका सिलिन्डर प्रयोग गर्दा पनि पड्कने सम्भावना हुन्छ । सिलिन्डर विष्फोटका कारण मानवीय, भौतिक, शारिरिक, मानसिकसाथै वातावरणीय क्षति समेत हुने गर्दछ ।
एलपी ग्यास सिलिन्डर विष्फोटबाट बच्न के कस्ता सावधानी अपनाउने ?
उचित स्थान र मर्मत
एलपी ग्यास सिलिन्डरलाई सही रुपमा प्रयोग गर्नु पर्दछ । निश्चित स्थानमा सिलिन्डर राख्ने गर्नुका साथै स–साना केटाकेटी ग्यास चलाउन दिनु हुदैन । सलाई लाइटर जस्ता आगो सल्काउन प्रयोग गरिने साधन बच्चाको पहुँच भन्दा टाढा राख्ने गर्नु पर्दछ । समय – समयमा आवश्यकता अनुसार मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।
नियमित निरिक्षण
ग्यास सिलिन्डरमा कुनै चुहावटको समस्या त छैन कि ? कतै मुसाले पाइप काटेको त छैन कि भनेर समय समयमा निरिक्षण गर्नुपर्ने हुन्छ ।
भेन्टिलेसन
ग्यास जम्मा हुन नदिन ग्यास राखिएको कोठामा राम्रोसँग भेन्टिलेसनको व्यवस्था गर्नुपर्ने हुन्छ । यसबाट ग्यास लिक भएता पनि कोठामा भरिन नपाउने भएकाले सुरक्षित हुने गर्दछ ।
ग्यास डिटेक्टर
एलपीजी ग्यास राखिएको ठाउमा हामी ग्यास डिटेक्टर राख्न सक्छौ । जसले हामीलाई ग्यास चुहावटको सुचना दिने गर्दछ ।
सिलिन्डर नजिक आगोजन्य कुनै वस्तु नराख्ने
सिलिन्डर नजिक आगोजन्य कुनैपनि वस्तु राख्नु हुदैन र यसको भण्डारण गर्खा पनि प्रत्यक्ष घामबाट पनि राख्ने गर्नु पर्दछ ।
उचित प्रयोग
ग्यासको उचित प्रयोग गर्नु पर्ने हुन्छ । ग्यासको प्रयोग गरी सकेपछि रेगुलेटर राम्रोसँग बन्द गर्नु पर्दछ ।
यसको अतिरिक्त
सिलिन्डरलाई गुडाउनु हुदैन ।
भारपर्ने गरी सिलिन्डरमाथि कुनै सामान राख्नु हुदैन ।
एउटै भान्सामा सकेसम्म दुईवटा सिलिन्डर राख्नु हुदैन ।
सिलिन्डरलाई कहिले पनि ढलाएर वा कोल्टो पारेर राख्नु हुदैन ।
सिलिन्डर भन्दा पनि ६ इन्च माथि ग्यास चुलो राख्ने पर्दछ । कहिल्यै पनि सिलिन्डरको माथि चुलो राख्नु हुदैन ।
सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नु पर्दछ ।