घर बनाउनु भन्दा अघि गरिने भूमिपुजननै जग पूजा हो । यो पूजा वास्तुशास्त्रीको सल्लाह अनुसार घर बनाउने जग्गामा जग खनेर दियो, कलश, गणेश लगाएत शिला, पञ्चकलश र वास्तु प्रतिमाको पूजा गरिन्छ । यो पूजा गर्दा घरमा दुख, अशान्ति पिडा तथा अन्य समस्या जिन्दगी भरका लागि टर्छ भन्ने जनविश्वास रहेको छ ।
यस्तै वास्तुशास्त्र वैज्ञानिक रुपमा पाँच आधारभूत तत्वहरु पृथ्वी, जल, अग्नि, वायु र आकाश विच एक सुखद वातावरण सिर्जना गर्ने अवधारणामा आधारित छ । यसलाई शिलन्यास पूजा पनि भनिन्छ ।
जग पूजा कसरी गर्ने
जग पूजा गर्न सबैभन्दा पहिला वास्तुशास्त्रिको सल्लाह लिएर जग खन्नुपर्ने हुन्छ ।
खनेको जगमा दियो, कलश, र गणेशको पूजा गरिसकेर मुख्य पूजा आरम्भ हुन्छ जुन शिला, पन्च कलश र वास्तु प्रतिमाको पूजा हो। शिला पूजा गर्न सबै भन्दा पहिला पञ्चशिलाको पूजा गर्नु पर्दछ ।
पन्च शिला
पन्च शिलाकोपूजाकोलागि सुनको शलाका अथवा कुशको टुक्रा र पाँचवटा शिला आवश्यक सामान हुन्।
यो पूजा गर्दा सुनको शलाकाले अथवा कुशको टुक्राले चन्दनद्वारा नन्दाशिलामा पद्म (कमल) भद्राशिलामा सिंहासन, जयाशिलामा तोरण र छत्र (छाता), रिक्ताशिलामा कूर्म (कछुवा), पूर्णाशिलामा चतुर्भुज बिष्णु लेखि वा सुन र चाँदीको बनाउन लगाई उक्त शिलामा राख्नुपर्छ ।
त्यसपछि वस्त्रले छोपेर अभिषेक गरी नन्दा, भद्रा, जया, रिक्ता, पूर्णामा क्रमैले निम्न देवताहरुको पूजा गर्नुपर्दछ । देवताहरुको पूजा गर्दा नन्दाशिलामा ब्रह्मालाई,
भद्राशिलामा विष्णुलाई, जया शिलामा रुद्रलाई, रिक्ता शिलामा ईश्वरलाई, पूर्णा शिलामा सदाशिवलाई सम्झि आवाहन गर्नुपर्छ ।
दोस्रोमा आउछ
पञ्च कुम्भ कलश पूजा
यस पूजाको लागि पाँचवटा कलश, घ्यू, मह, पन्चरत्न, पैसा, फूल, अक्षता, पञ्चपल्लव, पञ्चरत्न, सुवर्ण प्रतिमा, पुराना पैसाहरु आदिको आवश्यक पर्छ । चारै दिशामा राखिएका कलशलाई दक्षिणबाट उत्तरतर्फ क्रमश माथि उल्लेखित सामग्री लिएर कलशलाई छोएर पूजा गर्नुपर्छ ।
अन्त्यमा वास्तुप्रतिमा आव्हान पूजन गर्नुपर्ने हुन्छ ।
वास्तुप्रतिमा आव्हान पूजन
वास्तुप्रतिमा आव्हान पूजनको लागि वास्तु भगवानको सुनको प्रतिमा स्थापना गरी पूजा गर्नुपर्छ । त्यसपछि पाँचकलश माथि थालि राखेर पूजा गर्नुपर्छ । यो गरिसकेर देवता, पितृ तथा ब्राह्मणलाई नमस्कार गरी शिला स्थापना गरी पूजा गर्नुपर्दछ ।
यो पूजा सकेर विसर्जन गरी डकर्र्मी मिस्त्री ज्यामिलाई टिका लगाई दक्षिणा दिई पूजा गरिएको सामग्रीहरु सुम्पिएर खाल्टो राम्ररी पुर्नु पर्छ । त्यसपछि मात्र घर बनाउन सुरु गर्न सकिन्छ ।
उल्लेखित विधि युट्युब च्यानल https://www.youtube.com/watch?v=DdssISnl_oQ&t=143s बाट लिइएकोहो।